काठमाडौं, वैशाख २७ – सत्तारुढ नेपाली कांग्रेसका नेता एवं राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई देशको सेवा गर्न चाहने हो भने आफ्नो सम्पत्ति जनतालाई दिन चुनौती दिएका छन्।
‘संघीय लोकतान्त्रिक गणतन्त्रको सार्थकता र स्थायित्व अपरिहार्यता’ विषयक विचार गोष्ठीमा बिहीबार काठमाडौंमा बोल्दै उनले पूर्वराजालाई वर्तमान व्यवस्थाविरुद्ध बोल्ने होइन, राजनीतिमा आएर प्रत्यक्ष प्रतिस्पर्धा गर्न सुझाव दिए।
“पूर्वराजा ज्ञानेन्द्र, तिमी चुप लागेर बस, त्यसैमा तिम्रो भलाइ छ,” सिटौलाले भने, “जनताको सेवा गर्न मन छ भने बाँकी सम्पत्ति जनतामा सुम्प, आँट छ?”
उनले ज्ञानेन्द्र शाहलाई राजनीतिमा प्रवेश गर्न खुला चुनौती दिंदै भने, “भारतका पूर्वराजाहरू पनि राजनीतिमा आएका छन्, तपाईं पनि आउनुस्, चुनाव लड्न पाइन्छ।”
सिटौलाले राजतन्त्र अब दन्त्यकथाजस्तै भएको टिप्पणी गर्दै वर्तमान लोकतान्त्रिक व्यवस्थाभित्र रहेका कमजोरी सच्याउँदै अघि बढ्नुपर्नेमा जोड दिए।
“व्यवस्था होइन, समाज निर्माण कसरी गर्ने भन्नेमा अब युवाहरूले सोच्नुपर्छ,” उनले भने।