काठमाडौं, वैशाख २७ – नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले नेपाल मूलतः गरीब हुने देश नभएको दाबी गरेका छन्। पार्टीको बाँके क्षेत्र नं. १ को तेस्रो सम्मेलनमा बिहीबार सम्बोधन गर्दै उनले गलत बुझाइ र कमजोरीपूर्ण कार्यशैलीका कारण देश पछाडि परेको धारणा राखे।
“हामी गरीब हुने मान्छे होइनौं, नेपाल गरीब हुने देश होइन,” भण्डारीले भने, “तर अहिले देश वृद्धाश्रमजस्तो भएको छ भन्ने अवस्था आएको छ, जुन दुःखद् हो।”
राजनीतिमा लाग्ने व्यक्तिले ‘देश बनाउँछु’ भन्ने अठोट लिनुपर्नेमा उनले जोड दिए। “अहिलेको मूल मन्त्र ‘नेता हुँ, देश बनाउँछु’ हुनुपर्छ,” उनले भने।
उनको भनाइमा, देशको विकासका लागि निष्ठा, दृढता र जनप्रतिप्रति उत्तरदायित्वसहितको नेतृत्व अपरिहार्य छ।











