काठमाडौं, वैशाख २७ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानीमैत्री वातावरण निर्माणका लागि सरकार निरन्तर नीतिगत सुधारमा लागेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासङ्घको ५९औं साधारणसभाको उद्घाटन समारोहमा आज बोल्दै उनले लगानीसम्बन्धी कानुनलाई समयसापेक्ष बनाउने, एकल विन्दु सेवा प्रभावकारी बनाउने र विदेशी लगानी आकर्षित गर्न विशेष पहल गरिएको जानकारी दिए।
मन्त्री भण्डारीले निजी क्षेत्रलाई प्रोत्साहन गर्दै औद्योगिक पूर्वाधार विकासमा सरकारको प्राथमिकता रहेको उल्लेख गरे। “औद्योगिक क्षेत्रको स्तरोन्नति, विद्युत् आपूर्तिको सुधार, यातायात तथा सूचना प्रविधिको विस्तारले उद्योग व्यवसायको लागत घटाउँदै उत्पादन क्षमता वृद्धि गर्नेछ,” उनले भने।
औद्योगिक विकास आर्थिक समृद्धिको आधार रहेको बताउँदै उनले नेपालका तुलनात्मक लाभ भएका वस्तु तथा सेवामा उत्पादन र निर्यात वृद्धि गर्न नीतिगत सुधार गरिरहेको जानकारी दिए।
महासङ्घले व्यवसायीका हकहितको संरक्षण गर्दै अर्थतन्त्रमा पुर्याएको योगदान अतुलनीय रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले सरकार र निजी क्षेत्रबीचको सहकार्य अझ सुदृढ बनाउनु पर्नेमा जोड दिए। “स्वदेशी उत्पादन प्रवर्द्धन, आयात प्रतिस्थापन र निर्यात वृद्धिका लागि सरकार विभिन्न कार्यक्रममार्फत अगाडि बढिरहेको छ,” उनले भने।
नेपाल–भारत व्यापार मञ्च तथा वाणिज्य सचिवस्तरीय बैठकमा महासङ्घको सुझावहरू उपयोगी रहेको भन्दै उनले उत्पत्तिको प्रमाणपत्र अनलाइनमार्फत जारी गर्न गरिएको पहलबारे पनि जानकारी दिए।
अन्त्यमा, मन्त्री भण्डारीले अल्प, मध्यम र दीर्घकालीन सुधारका लागि महासङ्घको सुझावअनुसार सुधारको प्रक्रिया अघि बढाइने प्रतिबद्धता जनाए।