काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित आन्दोलनरत शिक्षकहरूले बानेश्वर सडकका तीनवटै लेनमा प्रदर्शन गर्न खोजेपछि प्रहरीसँग धकेलाधकेल भएको छ। शान्तिपूर्ण ढंगले आन्दोलन गर्दै आएका शिक्षकहरू आज भने सबै लेनमा प्रदर्शन गर्न थालेपछि स्थिति तनाबपूर्ण बनेको हो।
शिक्षकहरूले चैत २० गतेदेखि दैनिक रूपमा माइतीघर–बबरमहल–बानेश्वर क्षेत्रमा सडक आन्दोलन गर्दै आएका छन्। सरकारले वार्ताका लागि पटक–पटक आग्रह गरे पनि शिक्षकहरू अहिलेसम्म वार्तामा सहभागी भएका छैनन्। उनीहरूको माग विगतमा भएको सहमति अनुसार चाँडै विद्यालय शिक्षा ऐन जारी गर्नुपर्नेमा केन्द्रित छ।
प्रहरी प्रशासनले आन्दोलनलाई व्यवस्थित बनाउन शिक्षकहरूलाई एक लेनमा सीमित रहन आग्रह गर्दै आएको थियो। तर, आज तीनै लेनमा प्रदर्शन गर्न खोज्दा दुबै पक्षबीच धकेलाधकेल भएको हो।







