काठमाडौं, चैत २७ – गृहमन्त्री रमेश लेखकले हालै तीनकुनेमा भएको घटनामा घाइते भएका व्यक्तिहरूको स्वास्थ्य अवस्था बुझ्न आज विभिन्न अस्पतालको भ्रमण गरेका छन्। उनले घाइतेको उपचार सरकारले निःशुल्क गराउने व्यवस्था मिलाइने स्पष्ट पारे।
गृहमन्त्री लेखकले मन्त्रिपरिषद्को निर्णयअनुसार तीनकुने घटनाका घाइतेको उपचार खर्च सरकारले व्यहोर्ने बताए। “अस्पतालले निःशुल्क उपचार गरेको छ कि छैन भन्ने बुझ्न आएको हुँ,” उनले भने, “बाहिरबाट औषधि किनेर गरिएको खर्चसमेत अस्पतालमार्फत प्रमाणीकरण गरी स्वास्थ्य मन्त्रालयमा बुझाइनेछ, त्यसको भुक्तानी सरकारले गर्छ।”
चैत १५ गते पूर्वराजाका समर्थकद्वारा आयोजित प्रदर्शनमा भएको झडपमा दुई जनाको ज्यान गएको थियो भने पाँच जना घाइते भएका थिए, जो अहिले काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत छन्।
यसैबीच, गृहमन्त्री लेखकले जनकपुरको तबेला नगरपालिकामा आन्दोलनका क्रममा घाइते भएका सञ्जय यादवको स्वास्थ्य अवस्थाबारे पनि राष्ट्रिय ट्रमा सेन्टर पुगेर जानकारी लिएको उनका सचिवालयले जनाएको छ।











