अब लोडसेडिङ नहुने, मन्त्री खड्काको घोषणा

51 Shares

काठमाडौं — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अब देशमा लोडसेडिङ नहुने स्पष्ट घोषणा गरेका छन्। रसुवामा निर्माण सम्पन्न भएको ७८ मेगावाट क्षमताको साञ्जेनखोला जलविद्युत् आयोजनाको उद्घाटन गर्दै मन्त्री खड्काले सरकार २४ घण्टा नागरिक र उद्योगलाई विद्युत् आपूर्ति गर्न प्रतिवद्ध रहेको बताए।

उनले लोडसेडिङ हुने हल्लामा विश्वास नगर्न आग्रह गर्दै, आर्थिक सुशासन कायम गरेर जलविद्युत् क्षेत्रको विकासमा लाग्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिए।

मन्त्री खड्काले सरकारको लक्ष्य आगामी १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने रहेको जनाए। भारतसँग १० हजार मेगावाट विद्युत् निर्यात गर्ने सहमति भइसकेको र बङ्गलादेशमा ४० मेगावाट निर्यात भइसकेको सन्दर्भमा उनले निजी क्षेत्र र दातृ निकायलाई ढुक्क भएर लगानी गर्न आग्रह गरे।

प्राधिकरणको नेतृत्वमा आएका हितेन्द्रदेव शाक्य एसियाकै अब्बल इञ्जिनियर भएको भन्दै मन्त्री खड्काले विद्युत् प्राधिकरण थप उचाइमा पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा कार्यकारी निर्देशक शाक्यले लोडसेडिङ हटाउने क्षमतामा प्राधिकरण सक्षम रहेको उल्लेख गर्दै ऊर्जा मन्त्रालयको सहयोगमा थप उपलब्धि हासिल गर्ने प्रतिवद्धता जनाए।

नेपालका लागि चिनियाँ राजदूतावासका कार्यवाहक राजदूत वाङ सिनले नेपालले जलविद्युत् क्षेत्रमा हासिल गरेको प्रगति उत्साहजनक रहेको उल्लेख गर्दै चीनको निरन्तर सहयोग रहने बताए।

‘चाइना हारबर इञ्जिनियरिङ कम्पनी’ र ‘सालासुङ्गी पावर कम्पनी लिमिटेड’को संयुक्त लगानीमा रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ मा करिब २२ अर्ब रुपैयाँ लागतमा निर्माण गरिएको साञ्जेनखोला जलविद्युत् आयोजना आजदेखि औपचारिक रूपमा राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो। आयोजना सन् २०१९ देखि निर्माण थालिएको थियो।

सम्बन्धित समाचार

सबै