
काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले वृद्धि भएको छ। शेयर बजार परिसूचक नेप्से आज ११.६६ अंकले बढेर २,७५५.40 विन्दुमा पुगेको छ।
आज बैंक, लगानी, बीमा, उत्पादन, म्युचुअल फन्ड र अन्य बाहेक सबै समूहको शेयर घटेको छ। अन्य समूहको शेयर ३.७२ प्रतिशतले र उत्पादन समूहको शेयर २.७८ प्रतिशतले वृद्धि भएको छ।
गार्डियन माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर आज १० प्रतिशतले बढेको छ भने समग्र बजार उकालो लाग्दा रिलायन्स फाइनान्स कम्पनीको शेयर ७ प्रतिशतभन्दा धेरैले घटेको छ।
आज कारोबार रकम पनि उल्लेख्य रूपमा बढेको छ। बिहीवार ८.६२ अर्ब रुपैयाँको कारोबार भएकोमा आज ३२८ कम्पनीका २ करोड १२ लाख कित्ता शेयर ११.५४ अर्ब रुपैयाँमा किनबेच भएका छन्।
झन्डै तीन हप्तापछि शेयर बजारमा साढे ११ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको हो। यसअघि माघ २१ गते ११.७१ अर्ब रुपैयाँको शेयर कारोबार भएको थियो।