विश्वको प्राचीन संस्कृत भाषाको व्याकरणको उत्पत्ति भएको ऐतिहासिक पुण्य र तपोभूमि पाणिनिलाई विश्वसामु चिनाउन ‘पाणिनि तपोभूमि सम्मेलन आयोजना गरिएको हो । सम्मेलनमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, नेपाली काँग्रेसका नेताद्वय डा. चन्द्र भण्डारी र डा. पुष्पा भुसाल, प्रदेशका उद्योग तथा पर्यटनमन्त्री प्रचण्डविक्रम न्यौपानेलगायतको उपस्थिति रहेको छ।
अर्घाखाँचीको पणेना (हालको पाणिनि गाउँपालिका) मा सिद्धेश्वर दह नजिकै पाणिनि ऋषिले २८ दिनसम्म कठोर तपस्या गरेका थिए। पहिले सागपात, पछि जल र अन्तमा वायु मात्र सेवन गरेर गरेको तपस्याले महादेव प्रसन्न भई ताण्डव नृत्यका क्रममा डमरुको तालमा १४ माहेश्वर सूत्रहरू प्रदान गरेको किवंदन्ती रहेको छ ।







