सुर्खेत — नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा राजतन्त्रले कहिल्यै पनि सत्कर्म नगरेको टिप्पणी गरेका छन्। मंगलबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित एमालेको वृहत् जागरणसभामा सम्बोधन गर्दै उनले पृथ्वीनारायण शाह र बहादुर शाहबाहेक अरू राजाहरूले जनताको भलो नचाहेको बताए।
‘राजतन्त्रले सत्कर्म नगरेकाले अहिले प्रेत बनेर जनतालाई दुःख दिइरहेको छ,’ पोखरेलले भने, ‘हामी यही प्रेत हटाउन आएका हौं।’
उनले जनताले ल्याएको परिवर्तनलाई कमजोर पार्ने प्रयास भइरहेकाले त्यसको खबरदारी गर्न एमाले सडकमा आएको स्पष्ट गरे।
पोखरेलले गणतन्त्रले कर्णालीमा नुन, चामल र मोटर बाटो पुर्याएको उल्लेख गर्दै राजतन्त्रकालको तुलना गर्दै भने, ‘गणतन्त्रको उपलब्धि नदेख्ने मण्डलेहरूलाई गाउँ–गाउँमा नाङ्गेझार बनाउनु पर्छ।’
उनले माओवादीलाई भूमिहीन र सुकुम्वासीका नाममा राजनीति गर्ने तर समाधानको अध्यादेश पास नगरी असली चरित्र देखाएको आरोप लगाए। अध्यादेशलाई विधेयकका रूपमा ल्याएर भूमि समस्या समाधान गरिने प्रतिवद्धता पनि व्यक्त गरे।
देशमा माओवादीको अराजकता अन्त्य गर्न कांग्रेस र एमाले मिल्नु परेको बताउँदै उनले यो सहकार्य २०८४ को निर्वाचनसम्म कायम रहने बताए।
देशमा निराशा फैलाउने प्रयास भइरहेको उल्लेख गर्दै पोखरेलले नेकपा एमाले मात्र समस्याको समाधान गर्ने शक्ति भएको बताए। उनले जनतालाई प्रतिगामी शक्तिको विरुद्ध जुरमुराएर उठ्न आह्वान गर्दै एमालेलाई आगामी निर्वाचनमा बहुमतसहित सत्ता दिलाउन आग्रह गरे।











