काठमाडौं — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत शिक्षकहरुलाई वार्तामा बस्न पुनः आमन्त्रण गरेको छ। मन्त्रालयले बुधबार (चैत्र २७ गते) राहत, अस्थायी, बालविकास, साविक उच्च माविका शिक्षक तथा विद्यालय कर्मचारी प्रतिनिधिहरूलाई छलफलमा सहभागी हुन आग्रह गरेको हो।
यसअघि चैत्र २१ र २२ गते पनि मन्त्रालयले वार्ताका लागि बोलाए पनि शिक्षकहरू सहभागी भएका थिएनन्। मन्त्रालयले विज्ञप्ति जारी गर्दै औपचारिक छलफल नहुनु र आन्दोलन अझै जारी रहेको सन्दर्भमा पुनः संवादको लागि आह्वान गरेको जनाएको छ।
‘वार्ता र संवादको समय तालिका आपसी सल्लाहअनुसार तय गरिनेछ,’ विज्ञप्तिमा उल्लेख छ।
शिक्षकहरू भने शिक्षा सम्बन्धी कानून संशोधनका लागि तयार पारिएको विधेयक २०८० तत्काल संसदबाट पारित गर्नुपर्ने माग गर्दै निरन्तर आन्दोलनमा छन्। उनीहरूले यसअघि भएका सहमति कार्यान्वयनको माग गर्दै वार्ता होइन, सिधै शिक्षा ऐन लागू भएपछि मात्र आन्दोलन स्थगन गर्ने अडान लिएका छन्।