सिरहा — प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले एमाले जनताको जरासम्म फैलिएको पार्टी भएकाले कसैले हल्लाउन नसक्ने दाबी गरेका छन्। सिरहा बजारमा आयोजित पार्टीको ११ औं जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले जनताको साथ र विश्वास एमालेप्रति स्पष्ट रहेको बताए।
प्रधानमन्त्री ओलीले एमालेको कुनै निजी स्वार्थ नभएको र पार्टी देश तथा जनताको हितमा मात्रै केन्द्रित रहेको जिकिर गर्दै कार्यकर्ता र शुभेच्छुकहरूलाई “एमालेविरुद्धको भुलभुलैयामा नफसिन” आग्रह गरे।
उनले विगतमा प्रधानमन्त्री हुँदा सुनकोशी–मरिन डाइभर्सन, हुलाकी राजमार्ग लगायतका पूर्वाधार, शिक्षा र स्वास्थ्यका क्षेत्रमा सुधारका काम अघि बढाएको स्मरण गर्दै मधेसका समस्या समाधानका लागि केन्द्र सरकार प्रतिबद्ध रहेको पनि उल्लेख गरे।
चैत १५ गतेको अराजक गतिविधिबाट राजतन्त्र पक्षधरहरूको वास्तविकता प्रष्ट भएको बताउँदै उनले भने, “राजतन्त्र अब फर्कँदैन, आगजनी र तोडफोड गर्नेको हातमा शासन दिनु हुँदैन।”
प्रधानमन्त्री ओलीले सरकार चुनावसम्म टिक्ने स्पष्ट संकेत दिंदै भने, “सरकार अहिले ढल्छ भन्नेहरु थाके, अबको १५ महिनापछि म देउवालाई सरकार हस्तान्तरण गर्छु।”
कार्यक्रममा जनता समाजवादी पार्टीलगायत विभिन्न पार्टीबाट करिब पाँच सय जना नेता–कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए। उनीहरुलाई अध्यक्ष ओलीले पार्टीमा स्वागत गरे।
सत्रमा एमालेका सचिव रघुवीर महासेठ, मधेस प्रदेश इञ्चार्ज लीलानाथ श्रेष्ठ, तथा प्रदेशसभाका नेता सरोजकुमार यादवले पनि मन्तव्य राखेका थिए।
यस अवसरमा ओलीले शहीद हेमनारायण यादवको शालिकमा माल्यार्पण गर्दै सूर्यनारायण सत्यनारायण मरवैता यादव बहुमुखी क्याम्पसको नवनिर्मित सभा मञ्चको उद्घाटनसमेत गरेका थिए।











