जनकपुरधाम, चैत २६ – प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसलाई ज्ञान, तपस्या र शास्त्रार्थको देवभूमि भनेर सम्बोधन गरेका छन्। जनकपुरधामको भ्रमणका क्रममा उनले यस भूमिमा पाइला टेक्दा विशेष अनुभूति हुने बताउँदै मधेसको ऐतिहासिक र बौद्धिक महत्वलाई स्मरण गरे।
संघीय संरचनामा अगुवाइ गर्ने प्रदेशको रूपमा मधेसको योगदान उल्लेख गर्दै उनले भने, “यो प्रदेशले संघीय लोकतान्त्रिक प्रणाली स्थापनामा अग्रणी भूमिका खेलेको छ र अब यस प्रणालीको संरक्षणमा पनि अग्रमोर्चामा उभिनेछ।”
प्रधानमन्त्री ओलीले अधिकारको वितरणमा आफूहरू उदार रहेको स्पष्ट पार्दै परिपूर्ण लोकतन्त्रप्रतिको प्रतिबद्धता दोहोर्याए।
प्रणालीको अनुभूति जनतासम्म पुर्याउनुपर्नेमा जोड दिँदै उनले भने, “जनताले लोकतान्त्रिक प्रणालीको प्रभाव आफ्नै जीवनशैलीमा महसुस गर्नुपर्छ। त्यो महसुस नहुँदा प्रणालीप्रति वितृष्णा उत्पन्न हुन्छ र अन्ततः प्रणाली नै अस्वीकार गरिन्छ।”
उनले लोकतन्त्र सबै क्षेत्रमा फल्न र फुल्नुपर्नेमा जोड दिँदै, प्रणाली जनताको सेवामा समर्पित हुनुपर्ने धारणा व्यक्त गरे।