काठमाडौंमा आज तीनवटा प्रदर्शन, ट्राफिकले गर्‍यो डाइभर्सन व्यवस्था

37 Shares

काठमाडौं — आज काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल शिक्षक महासंघ र सहकारी तथा लघुवित्त पीडित समूहले अलग–अलग स्थानमा विरोध प्रदर्शन गर्ने भएका छन्। प्रदर्शनलाई लक्षित गर्दै ट्राफिक प्रहरीले काठमाडौंका प्रमुख सडकहरूमा सवारी डाइभर्सनको व्यवस्था मिलाएको छ।

राप्रपाले विभिन्न स्थानबाट र्‍याली निकालेर बल्खु क्षेत्रमा विरोध कार्यक्रम गर्ने तयारी गरेको छ। त्यसलाई मध्यनजर गर्दै खसीबजार–मकालु–कलंकी–बाफल, बल्खु–कुलेश्वर–कालिमाटी–टेकु, कीर्तिपुर–सुन्दरीघाट–सानेपा हुँदै एकान्तकुनासम्म सवारी डाइभर्सन गरिनेछ। आवश्यकता अनुसार त्रिपुरेश्वर–बालाजु–हलचोक–नैकाप–सीतापाइला र चोभार–फर्पिङ–नख्खु दोबाटो हुँदै कोटेश्वर मार्ग प्रयोग गरिने बताइएको छ।

प्रदर्शनमा सहभागी हुने सवारीसाधनका लागि टीयू गेटदेखि चोभार सडक, सानेपा करिडोर, चोभार सुक्खा बन्दरगाह, नयाँ बसपार्क र सीतापाइला–बाफल सडकखण्डमा पार्किङको व्यवस्था मिलाइएको छ।

त्यस्तै, नेपाल शिक्षक महासंघले माइतीघरबाट बानेश्वरसम्म र्‍याली निकाल्ने कार्यक्रम छ। माइतीघर सडकको बीच भागमा प्रदर्शन हुने भएकाले त्यहाँ पनि डाइभर्सन लागू हुनेछ।

शान्तिवाटिकामा सहकारी र लघुवित्त पीडितले पनि विरोध कार्यक्रम गर्ने भएकाले सम्बन्धित क्षेत्रका सडकमा वैकल्पिक मार्ग अपनाउन ट्राफिक प्रहरीले सवारी चालकहरूलाई अनुरोध गरेको छ।

सम्बन्धित समाचार

सबै