काठमाडौं — नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले राजनीतिक अस्थिरता र सामाजिक अराजकता अहिले मुलुकका मुख्य चुनौतीका रूपमा देखिएको बताएका छन्। राष्ट्रिय युवा संघको शिक्षा विभागद्वारा आयोजित युवा साहित्यिक सम्मेलनको उद्घाटन गर्दै उनले यस्ता चुनौती लामो समयसम्म नटिक्ने विश्वास व्यक्त गरे।
महासचिव पोखरेलका अनुसार राजनीतिक अस्थिरता र सामाजिक अराजकताका समस्यालाई सम्बोधन गर्न दुई ठूला दल सरकारमा सहभागी भएका हुन्। उनले विशेषगरी युवा पुस्ताको परम्परागत कृषिप्रति घट्दो आकर्षणलाई रोजगारीको संकटको मूल कारणका रूपमा चित्रित गरे।
“नयाँ पुस्ता परम्परागत कृषिमा संलग्न हुन चाहेन, जसले सबैभन्दा धेरै रोजगारी दिँथ्यो,” पोखरेलले भने, “शिक्षित युवा कृषिबाट विमुख भएपछि मानव संसाधन व्यवस्थापनमा चुनौती देखिएको हो।”
उनले कृषि प्रणालीलाई व्यावसायिक रूपान्तरण गरी स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिए। साथै, उनले देश निर्माणमा समय लाग्ने उल्लेख गर्दै २०१५ सालदेखि हालसम्म राजनीतिक दलले मात्र १७ वर्ष नेतृत्व गर्न पाएको बताए।
कार्यक्रममा युवा संघका अध्यक्ष क्षितिज थेवेले युवालाई सामाजिक अराजकताबाट टाढा राख्नुपर्ने धारणा राखे। शिक्षा विभाग प्रमुख तथा सचिव कुवेर अधिकारीले युवामा सकारात्मक सोच र आत्मविश्वास विकास गरी राष्ट्र निर्माणमा सक्रिय बनाउन सम्मेलन आयोजना गरिएको बताए।
सम्मेलनमा कविता, गजल, निवन्ध र वकृत्वकला वाचन हुने छ। आयोजकका अनुसार वकृत्वकलामा ११० र अन्य विधामा ४०० युवा सहभागी छन्। उत्कृष्ट सिर्जनालाई पुरस्कार प्रदान गरिनेछ।