
काठमाडौं । सत्तारुढ नेकपा एमालेका उपमहासचिव र पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालले लोकतन्त्र बाहेक अन्य कुनै बाटो नअपनाउने बताएका छन्।
आज (सोमबार) काठमाडौंमा आयोजित ‘नेपाल–भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्व प्रधानमन्त्री चन्द्रशेखरजीले पुर्याउनु भएको योगदान’ विषयक अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै ज्ञवालीले नेपालको लोकतन्त्रलाई अझै परिस्कृत बनाउने र त्यसमाथि सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे।
ज्ञवालीले भने, “गणतन्त्रको विकल्प अझ परिस्कृत गणतन्त्र हो, तर यहाँका कमजोरीलाई उपयोग गरेर अरु कसैले नेपाललाई अर्को दिशातिर धकेल्ने प्रयास गरे पनि त्यो सफल हुँदैन।” उनले भारतीय मित्रहरूलाई नेपालले डेमोक्रेसी बाहेक कुनै पनि बाटो नअपनाउने कुरा बुझ्न आग्रह गरे।
उनले लोकतन्त्रमा विरोध गर्न सकिने कुरा स्वीकार गर्दै, यसको उल्ट्याउने प्रयास गलत हुने बताए। “नेपालले डेमोक्रेसीका ३५ वर्षमध्ये २० वर्ष कन्फ्लिक्ट र पोस्ट-कन्फ्लिक्ट अवस्थामा बिताएको छ, र आज नेपाल गर्व गर्ने स्थानमा छ,” उनले थपे।
ज्ञवालीले जनताको असन्तोषलाई भड्काउने प्रयास गलत रहेको र लोकतन्त्रको भविष्य उज्जवल रहेको धारणा राखे।