
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आयुर्वेद क्षेत्रको विकासका लागि विदुषी योगमाया हिमालय आयुर्वेद विश्वविद्यालयलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन्।
विदुषी योगमाया हिमालय आयुर्वेद विश्वविद्यालयको दीर्घकालीन गुरुयोजना तर्जुमा गर्न आयोजित राष्ट्रिय परामर्श गोष्ठीमा बोल्दै उनले हिमालय र आयुर्वेद क्षेत्रबीच ऐतिहासिक सम्बन्ध रहेको उल्लेख गरे। संखुवासभालगायतका जिल्लाहरू जडीबुटीको प्रमुख केन्द्र भएकाले त्यसको सही उपयोगका लागि यस्ता विश्वविद्यालयहरू उपयोगी हुने मन्त्री खड्काले स्पष्ट पारे।
उनले विदुषी योगमायाले आफ्नो समयमै गरेका क्रान्तिकारी कार्यलाई सरकारले विश्वविद्यालयमार्फत सम्मान गर्न लागेको बताए। विश्वविद्यालयका लागि चाँडै कर्मचारी व्यवस्थापन गरिने जानकारी पनि उनले दिए।
त्यसैगरी, ऊर्जा क्षेत्रको विकासलाई समेत सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री खड्काले जलविद्युत् क्षेत्रबाट गरिब तथा विपन्न नागरिकलाई समृद्ध बनाउने उद्देश्यले दुई लाखदेखि पाँच लाख रुपैयाँसम्मको शेयरको व्यवस्था गर्न लागिएको जानकारी गराए।