भैरहवा — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई जिल्ला कारागार भैरहवा, रुपन्देहीमा राखिएको छ। सोमबार बिहान उच्च अदालत तुलसीपुरको बुटवल इजलासबाट प्राप्त आदेशको आधारमा उनलाई जिल्ला अदालत पेस गरी थुनुवा पुर्जी प्रदान गरिएको थियो।
जिल्ला प्रहरी कार्यालयका डीएसपी सुरज कार्कीको नेतृत्वमा लामिछानेलाई अदालतमा पेस गरेर प्रक्रिया पूरा गरी कारागारमा पठाइएको हो।
कारागारमा पुगेपछि लामिछानेलाको स्वास्थ्य परीक्षण गरिएको थियो। कारागार प्रशासनका अनुसार उनलाई ब्लक नम्बर ४ मा राखिएको छ, जहाँ अहिले केवल उनी मात्र थुनुवा रहेको जानकारी दिइएको छ।
उच्च अदालतले लामिछानेलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिइसकेपछि उनको लागि छुट्टै कक्ष तयार गरिएको थियो। उक्त कक्ष कारागार भवनभन्दा बाहिर रहेको छ।
गएको शुक्रबार राति काठमाडौंबाट पक्राउ गरिएका लामिछानेलाई शनिबार बिहान भैरहवा ल्याइएको थियो। दुई दिन हिरासतमा राखेपछि सोमबार उनलाई कारागार पठाइएको हो।
सदरमुकाम भैरहवामा सुरक्षा व्यवस्था कडा गरिएको थियो, र अदालत जाने बाटो र परिसरमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी तैनाथ गरिएको थियो।