
काठमाडौं — वरिष्ठ पत्रकार भैरव रिसालको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले गहिरो दुःख व्यक्त गरेका छन्।
प्रधानमन्त्री ओलीले रिसालको ९६औं जन्मदिनका अवसरमा उनकै निवासमा भएको भेटको तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै, त्यो भेट अन्तिम हुने सोच्न नसकेको उल्लेख गरेका छन्।
‘हितैषी मित्र भैरव रिसालसँग गत फागुन २१ गते भेट भएको थियो, त्यही भेट अन्तिम हुन पुग्यो,’ प्रधानमन्त्री ओलीले लेख्दै, उनको निधनले आफू मर्माहत भएको र स्वर्गीय रिसालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्।
राष्ट्रिय समाचार समिति (रासस)का पूर्व प्रमुख समाचारदाता समेत रहेका ९७ वर्षीय रिसालको निधन बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा भएको हो।
उनी मुटु तथा फोक्सोसम्बन्धी समस्याबाट पीडित थिए। पत्रकारिता सँगसँगै मानव अधिकार र वातावरण संरक्षणको क्षेत्रमा पनि उनले उल्लेखनीय योगदान दिएका थिए।