भोटको भरमा चम्किएकी मानुषी घोष, इण्डियन आइडल–१५ को चम्किलो उपाधि हात पारिन्

73 Shares

मुम्बई — चर्चित गायन रियालिटी शो ‘इण्डियन आइडल–१५’ को विजेता कोलकाताकी मानुषी घोष घोषित भएकी छन्। उत्कृष्ट पाँच प्रतिस्पर्धीमध्ये खड्गपुरका सुभाजित चक्रवर्ती दोस्रो र मुम्बईकी स्नेहा शंकर तेस्रो स्थानमा रहे।

फाइनलमा मानुषी, सुभाजित र स्नेहाबीच कडा प्रतिस्पर्धा भए पनि दर्शकको भोटको आधारमा मानुषीले उपाधि जितेकी हुन्। उनले विजेताको ट्रफीसँगै २५ लाख रुपैयाँको चेक र कार पुरस्कार प्राप्त गरिन्। दोस्रो र तेस्रो स्थान हासिल गर्ने सुभाजित र स्नेहाले जनही ५–५ लाख रुपैयाँ प्राप्त गरे।

यो वर्षको फाइनलमा पश्चिम बंगालका प्रतियोगीहरूको वर्चस्व देखिएको थियो। शीर्ष पाँचमध्ये तीन जना बंगालबाट थिए। शोमा आउनुभन्दा अगाडि नै मानुषी र सुभाजितबीचको मित्रता रहेको थियो, र उनीहरूले एकअर्कालाई दाजुभाइ र बहिनीको नातामा हेर्ने गर्थे।

विजयी बनेपछि २४ वर्षीया मानुषीले भनिन्, “मैले यो ट्रफी जितेको छु भन्ने अझै पत्याउन सकेकी छैन। आमाबुवा, गुरु, दर्शक र निर्णायकहरूबाट पाएको माया पाउँदा म निकै भाग्यमानी महसुस गरिरहेकी छु।”

बाल्यकालदेखि नै नाच र गायक दुबैमा रुचि राख्ने मानुषीले अन्ततः गायन रोजेकी थिइन्। अब उनले संगीत क्षेत्रमा थप सम्भावना खोज्दै मुम्बईमै बसेर आफ्नो करियर अगाडि बढाउने योजना बनाएकी छन्।

 

सम्बन्धित समाचार

सबै