काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले शिक्षकहरूले उठाएका जायज मागहरूलाई वार्ता र संवादमार्फत शीघ्र समाधान गर्न सरकारलाई आग्रह गरेको छ । पार्टीले शिक्षा ऐन छिटो पारित गर्न माग गर्दै शिक्षक आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ ।
पार्टीका उपमहासचिव रामकुमार भट्टराईद्वारा आइतबार जारी विज्ञप्तिमा भनिएको छ, “शिक्षकको आन्दोलनले शैक्षिक क्षेत्र अस्तव्यस्त भएको छ, पठनपाठन अवरुद्ध छ र एसईईको उत्तरपुस्तिका परीक्षणसमेत प्रभावित भएको छ । यो अवस्था राज्यका लागि गम्भीर विषय हो, त्यसैले हाम्रो पार्टी आन्दोलनप्रति ऐक्यबद्धता जनाउँछ ।”
नेपाल शिक्षक महासंघको नेतृत्वमा चैत्र २० गतेदेखि शिक्षक तथा विद्यालय कर्मचारीहरूले गुणस्तरीय, विद्यार्थीमैत्री र शिक्षक–कर्मचारीमैत्री विद्यालय शिक्षा ऐनको माग गर्दै काठमाडौंको माइतीघरमा आन्दोलन गरिरहेका छन् । पार्टीले सरकारसँग भएका सम्झौता कार्यान्वयन गर्न पनि जोडदार माग गरेको छ ।