काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सडकमा आन्दोलनरत शिक्षकहरूलाई नियमित काममा फर्कने वातावरण तयार गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
सामाजिक सञ्जालमार्फत नेता कोइरालाले सरकार र नेपाल शिक्षक महासंघबीच अघिल्लो सहमतिअनुसार विद्यालय शिक्षा ऐन तत्काल जारी गरेर शिक्षकका समस्याको समाधान गर्नुपर्ने बताए। उनले भने, “नेपाल शिक्षक महासंघको नेतृत्वमा अहिले शिक्षकहरू सडक आन्दोलनमा छन्। सरकारसँग भएका सहमतिअनुसार विद्यालय शिक्षा ऐन जारी गरी समस्या समाधान गर्न र शिक्षकहरूलाई काममा फर्कने वातावरण बनाउन म सरकारसँग आग्रह गर्दछु।”
हाल आन्दोलनरत शिक्षकहरू काठमाडौंमा भेला भएर निर्णायक चरणको आन्दोलनमा छन्। उनीहरूको माग छ– शिक्षा ऐन जारी गरेर मात्र आन्दोलन स्थगित गरिनेछ। महासंघले सरकारले पटक–पटक सम्झौता गरेर धोका दिएको भन्दै यसपटक ऐन लागु नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिएको छ।