ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले देशका अमूल्य सम्पदाको संरक्षण, विकास र प्रवर्द्धनमा संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारले समान रूपले ध्यान दिनुपर्ने बताएका छन्।
ललितपुर महानगरपालिकास्थित पाटन दरबार क्षेत्रमा पुनर्निर्माण गरिएको ऐतिहासिक श्री देगुतलेजु मन्दिरको उद्घाटन तथा शिलापत्र अनावरण गर्दै राष्ट्रपति पौडेलले सम्पदा संरक्षणमा जनस्तरको सक्रियता, जागरुकता र सहभागिता अपरिहार्य रहेको बताए। उनले भने, “यी सम्पदा हाम्रो इतिहास, पहिचान र संस्कृतिका महत्वपूर्ण साक्षी हुन्, जसको संरक्षण भावी सन्ततिका लागि आवश्यक छ।”
नेपालको धार्मिक, सांस्कृतिक र ऐतिहासिक समृद्धिको प्रतीकका रूपमा रहेका सम्पदाले अन्तर्राष्ट्रिय पहिचान बनाएको उल्लेख गर्दै उनले पाटन दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत एक महत्वपूर्ण स्थलको रूपमा चिनाए। उनले गोरखा भूकम्पपछि क्षतिग्रस्त सम्पदालाई जस्ताको त्यस्तै स्वरूपमा पुनर्निर्माण गर्नु चुनौतीपूर्ण भए पनि देगुतलेजु मन्दिरको पुनःस्थापनाले त्यसमा सार्थकता देखिएको बताए।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले ललितपुरले सम्पदा संरक्षणमा गरेको कार्य प्रशंसायोग्य भएको बताए। उनले जापान सरकारको सहयोग र स्थानीयको सक्रियता मार्फत १० वर्षको मेहनतपछि मन्दिर पुनर्निर्माण सम्भव भएको जानकारी दिए।
नेपालका लागि जापानी राजदूत माएदा तोरुले मन्दिर पुनर्निर्माण नेपाल–जापानबीचको मित्रताको प्रतीक बनेको भन्दै यसले सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे।
ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले सम्पदाको पुरानो स्वरूप जोगाएर स्थानीय उपभोक्ता समितिमार्फत मन्दिर पुनर्निर्माण सम्पन्न गरिएको जानकारी गराए। मन्दिर पुनर्निर्माण समितिका अध्यक्ष किरणमान प्रधानले २०७२ सालको भूकम्पले क्षति पुर्याएको यो मन्दिर पुनर्निर्माण गर्दै भावी पुस्ताका लागि महत्वपूर्ण योगदान दिन पाएकोमा सन्तोष व्यक्त गरे।











