काठमाडौं । नेपाल बार एशोसिएसनको २७औं केन्द्रीय कार्यसमिति चयनका लागि शनिबार सम्पन्न मतदानको मतगणना सोमबारदेखि सुरु हुने भएको छ। प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाका अनुसार सबै मतपेटिका आइतबार बेलुकासम्म काठमाडौं ल्याइनेछ र त्यसपछि सोमबारदेखि औपचारिक मतगणना सुरु गरिनेछ।
बारको नयाँ नेतृत्व चयनका लागि कुल ९ हजार ९५७ मतदातामध्ये करिब ८० प्रतिशतले मतदान गरेका थिए। देशभर ३६ स्थानमा मतदान केन्द्र स्थापना गरिएको थियो। २५ सदस्यीय कार्यसमितिका लागि यसपटक ५७ जनाले उम्मेदवारी दिएका छन्।
अध्यक्ष पदमा दुई समूहबीच कडा प्रतिस्पर्धा भएको छ। बृहत लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी र समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्र उम्मेदवार छन् भने व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ प्रतिस्पर्धामा छन्।
प्राडा मिश्रको समूहबाट महासचिव पदमा वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला उम्मेदवार छन् भने श्रेष्ठको समूहबाट अधिवक्ता यज्ञमणि न्यौपानेले उम्मेदवारी दिएका छन्। नयाँ नेतृत्वले बारको भावी नीति तथा योजना तय गर्ने अपेक्षा गरिएको छ।