देश विकासका लागि राजनीतिक सहकार्य आवश्यक छ’ – सांसद भीमप्रसाद आचार्य

45 Shares

काठमाडौं – नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं प्रतिनिधिसभा सांसद भीमप्रसाद आचार्यले देशको विकासका लागि राजनीतिक दलहरूबीच सहकार्य आवश्यक भएको बताएका छन्। उनले सत्ताका लागि प्रतिस्पर्धा गर्नु विडम्बनापूर्ण भन्दै नीति, कार्यक्रम र सुशासनका लागि प्रतिस्पर्धा हुनुपर्ने धारणा राखेका छन्।

रासससँगको कुराकानीमा सांसद आचार्यले दलहरूबीच आरोप–प्रत्यारोप गर्ने गलत राजनीतिक संस्कार हटाई ‘भिजन’ र कामका लागि प्रतिस्पर्धा गर्नुपर्नेमा जोड दिए। “विकासका काममा सबै दल मिलेर अघि बढ्नुपर्छ,” उनले भने।

संविधान कार्यान्वयन ढिलो भएको भन्दै उनले आवश्यक कानुन नबन्दा सरकारका काममा अवरोध भएको बताए। संघ, प्रदेश र स्थानीय सरकारबीच अधिकारको अस्पष्टता रहेको भन्दै उनले त्यसलाई स्पष्ट पार्नुपर्ने आवश्यकता औंल्याए।

सुशासनका लागि सरकारी सेवा प्रणालीलाई अनलाइनमार्फत सरल र प्रभावकारी बनाउनु पर्ने सुझाव पनि उनले दिए। सेवामा हुने ढिलासुस्तीले भ्रष्टाचार बढाउने सम्भावना भएकाले त्यसलाई रोक्न कानुनी सुधारको खाँचो रहेको उल्लेख गरे।

शिक्षा क्षेत्रमा सुधार आवश्यक रहेको बताउँदै सांसद आचार्यले प्राविधिक र व्यावसायिक शिक्षालाई प्राथमिकता दिनुपर्ने बताए। “नेपालमै सीप सिकेर रोजगारी पाउन सकिन्छ भन्ने वातावरण बनाउनुपर्छ,” उनले भने।

राजसंस्थाका बारेमा बोल्दै आचार्यले जनताको असन्तुष्टि भए पनि त्यसको अर्थ राजा फर्किनुपर्छ भन्ने नमान्नुपर्ने तर्क गरे। “पूर्वराजालाई गलत ढंगले प्रस्तुत गरिएको छ, तर राजसंस्थाको पुनःस्थापना सफल हुने सम्भावना छैन,” उनले प्रस्ट पारे।

संविधान संशोधनबारे पनि बोल्दै उनले प्रदेशको आकार घटाउने, निर्वाचन प्रणाली, थ्रेसहोल्ड र अधिकार बाँडफाँटका विषयमा आवश्यक संशोधन हुनुपर्ने बताए। “हरेक दशकमा संविधान संशोधन सामान्य प्रक्रिया हो,” उनले भने।

सरकार बारम्बार परिवर्तन हुँदा संसद्ले अपेक्षित काम गर्न नसकेको भन्दै उनले कानुन निर्माण र बजेट कार्यान्वयनमा प्रभाव परेको जनाए। यद्यपि, जनताका मुद्दालाई उठाउने काम सांसदको जिम्मेवारी भएको भन्दै आफूहरू निरन्तर सक्रिय रहेको उनले बताए।

सम्बन्धित समाचार

सबै