
काठमाडौं – सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालगञ्जस्थित वीपी कोइरालाको शालिकमा कालोपोत र तोडफोड गरिएको घटनाप्रति तीव्र आपत्ति जनाएका छन्।
उनले आइतबार सामाजिक सञ्जालमार्फत राजसंस्थाको पुनःस्थापनाका पक्षमा रहेको राप्रपाको नाममा यस्तो हर्कत हुनु गम्भीर र आपत्तिजनक भएको बताएका छन्।
पोखरेलले लेखेका छन्, “राजतन्त्र होइन, राजसंस्था पुनःस्थापनाको आन्दोलनमा हो भन्नेहरूले वीपीको शालिकमा कालोपोत र तोडफोड गर्ने धृष्टता गरेछन्, अब आफैं बुझ्नुहोस् राजावादीहरू के चाहन्छन्।”
उनले थप भनेका छन्, “यदि नेपालमा लोकतन्त्र र राजसंस्था सँगै जान सक्छ भन्नेहरूको समयमा पूर्वराजा ज्ञानेन्द्रको शासन बेहोर्नु परेको भए, वीपी पनि गणतन्त्रकै पक्षमा उभिनु हुन्थ्यो।”
शनिबार साँझ राजावादी समूहले राँके जुलुस निकालेका थिए। सोही क्रममा वीपी कोइरालाको नेपालगञ्जस्थित शालिकमा कालोपोत गर्ने कार्य गरिएको थियो, जसको चौतर्फी आलोचना भइरहेको छ।