काठमाडौं – नेपाल शिक्षक महासंघले सोमबारदेखि अनिश्चितकालीन शैक्षिक हडतालको घोषणा गर्दै देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ। शिक्षा ऐन कार्यान्वयनको मागसहित माघ २० गतेदेखि आन्दोलनमा रहेको महासंघले आन्दोलनलाई थप सशक्त बनाउन काठमाडौं केन्द्रित सडक प्रदर्शनलाई तीव्र बनाएको हो।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सबै शिक्षक–कर्मचारीलाई काठमाडौंको शान्तिपूर्ण आन्दोलनमा अनिवार्य सहभागी हुन आह्वान गरेका छन्। साथै, उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम, गोष्ठी, भ्रमण लगायतका कुनै पनि शैक्षिक गतिविधिमा सहभागी नहुन समेत आग्रह गरिएको छ।
महासंघले सरकारले पटक–पटक वार्तामा बोलाए पनि आफूहरू कार्यान्वयनकै मागमा काठमाडौं आएको भन्दै संवादमा नबस्ने अडान दोहोर्याएको छ।
शिक्षक आन्दोलनका कारण विद्यालयहरूको शैक्षिक गतिविधि र एसईई परीक्षाको उत्तरपुस्तिका परीक्षण प्रभावित भएको शिक्षा मन्त्रालयले जनाएको छ। चैत १८ मा सम्पन्न एसईईको नतिजा असारको पहिलो साता सार्वजनिक गर्ने लक्ष्य भए पनि आन्दोलन नरोकिए ढिलाइ हुने देखिएको छ।
प्रधानमन्त्री कार्यवाहक रहेका प्रकाशमान सिंहले वार्ताको पहल गरे पनि शिक्षकहरू सहभागी नभएको र शुक्रबार सिंहदरबारमा बसेको वार्ता टोली उनीहरूको प्रतीक्षामा बसे पनि कुनै छलफल हुन नसकेको जनाइएको छ। महासंघले सरकारसँगको पुरानो सहमति कार्यान्वयन नगरेसम्म वार्ता नहुने स्पष्ट पारेको छ।