काठमाडौं – राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्य अन्तर–व्यवस्थापिका संघ (आईपीयू) को दिगो विकास स्थायी समितिमा एसिया–प्रशान्त क्षेत्रको प्रतिनिधित्व गर्दै नेपालको तर्फबाट विजयी भएकी छन्।
उज्वेकिस्तानको राजधानी तास्केन्टमा सम्पन्न सम्मेलनमा शाक्यले नेपाल प्रतिनिधित्व गरेकी हुन्। उक्त पदका लागि माल्दिभ्स र इरानबाट पनि उम्मेदवारी परे पनि शाक्यले दुवै प्रतिस्पर्धीलाई पछि पार्दै जित हासिल गरिन्।
सभामुख देवराज घिमिरेले शाक्यको उम्मेदवारीलाई सशक्त रुपमा समर्थन गर्दै आईपीयु सदस्य ३६ देशका सभामुखलाई समर्थनका लागि पत्र लेखेका थिए।
नेपालले पहिलो पटक यो मञ्चमा आफ्नो उपस्थिति जनाएको हो। शाक्यले यो जितले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा बढाएको बताएकी छन्।
शाक्य राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको सदस्य तथा दिगो विकास उपसमितिकी संयोजक हुन्। उनी नेतृत्वमा तयार भएको ‘नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा अध्ययन प्रतिवेदन–२०८१’ हालै समितिमा बुझाइएको छ।