अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा घोषणा गरिएको नयाँ आयात करका कारण लगातार तेस्रो दिन पनि अमेरिकासहित विश्वभरका सेयर बजारमा तीव्र गिरावट आएको छ। बीबीसीका अनुसार हिजो जस्तै आज पनि विश्वका प्रमुख सेयर सूचकांकहरूमा भारी प्रभाव देखिएको छ।
ट्रम्पको कर नीति विरुद्ध चीनले चालेको जवाफी कदमले स्थितिलाई अझ गम्भीर बनाएको हो। विश्लेषकहरूका अनुसार यसले दीर्घकालीन व्यापार युद्धको जोखिम बढाउँदै विश्व अर्थतन्त्रमा गहिरो असर पार्न सक्छ।
हिजो मात्रै अमेरिकाका तीन प्रमुख शेयर सूचकांकहरू ५ प्रतिशतभन्दा बढीले घटेका थिए। सन् २०२० यता अमेरिकाले यस्तो खराब हप्ता पहिलोपटक देखेको हो। बेलायती सेयर बजार पनि करिब ५ प्रतिशतले घटेको छ, जुन पछिल्ला पाँच वर्षमा सबैभन्दा ठूलो गिरावट हो। त्यसैगरी जर्मनी, फ्रान्स र एशियाली बजारहरू समेत नराम्ररी प्रभावित भएका छन्।
विश्व व्यापार प्रणालीमा सुधार ल्याउने वाचा गरेका ट्रम्पले भने बजारमा आएको यो अस्थायी झट्काको चासो लिनुपर्ने आवश्यकता नरहेको र अमेरिकी श्रम बजार अझै बलियो रहेको बताएका छन्। उनले विश्वका सबै देशबाट हुने आयातमा १० प्रतिशत नयाँ कर लागू गरेपछि विश्वभरको सेयर बजारबाट खर्बौं डलर बराबरको मूल्य गुमिसकेको छ।
विश्लेषकहरूले ट्रम्पको यो निर्णयलाई सन् १९६८ यताकै सबैभन्दा ठूलो कर वृद्धिको रूपमा लिएका छन्।