धनुषा । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अस्पताल र स्थानीय तहमा कार्यरत छात्रवृत्ति करार सेवाका चिकित्सक तथा स्वास्थ्यकर्मीको तलब तुरुन्त भुक्तानी गर्न निर्देशन दिएका छन्।
प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिँदै मुख्यमन्त्री सिंहले संघीय सरकारबाट आवश्यक बजेट प्राप्त भइसकेकाले अबको दुई–तीन दिनभित्र प्रक्रिया पूरा गरेर तलब वितरण सुनिश्चित गर्न आग्रह गरेका हुन्। साथै, उनले भविष्यमा यस्ता ढिलाइ नदोहर्याउन मन्त्रालयलाई सतर्कता अपनाउन पनि भनेका छन्।
मुख्यमन्त्रीको यो कदमपछि करारमा कार्यरत स्वास्थ्यकर्मीहरूको तलब समस्या समाधान हुने पक्का भएको छ। उनीहरूलाई नियमित रूपमा सेवामा खटिन पनि आग्रह गरिएको छ।
नेपाल चिकित्सक सङ्घ, मधेश प्रदेश समितिले करारमा कार्यरत स्वास्थ्यकर्मीको समस्या समाधानका लागि चासो देखाएको भन्दै मुख्यमन्त्री सिंहप्रति धन्यवाद व्यक्त गरेको छ।