उच्च अदालतको आदेशपछि धरौटी आदेश बदर, लामिछाने थुनामा

208 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज (शनिबार) भैरहवा लगिदैछ। उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई सहकारी ठगी मुद्दामा थुनामा पठाउने आदेश दिएपछि हिजो राति काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई आज जहाजमार्फत भैरहवा लैजान लागिएको हो।

न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। यसअघि जिल्ला अदालत रुपन्देहीले उनलाई एक करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो, जुन आदेश उच्च अदालतले बदर गरेको हो।

बुटवलको सुप्रिम सहकारी प्रकरणमा लामिछानेविरुद्ध मुद्दा दायर भएको थियो। उनले जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा निवेदन दिएका थिए। अब सार्वजनिक बिदाका कारण उनलाई मंगलबार मात्र रुपन्देही जिल्ला अदालतमा उपस्थित गराइने भएको छ।

हिजो उनलाई काठमाडौँको भद्रकालीस्थित जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएको थियो। पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्युरोका एसपी सुधीरराज शाही र उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मनोहर भट्टको टोली लामिछानेको निवासमा पुगेका थिए।

उच्च अदालतले दिएको आदेशमा धरौटी र थुनाको विषयमा स्पष्ट व्याख्या गर्दै, “थुनामा राख्नुपर्ने अभियुक्तलाई अदालतले धरौटी माग गर्न मिल्दैन” भन्ने निष्कर्ष दिएको छ। आदेशमा कसुरको प्रकृति, घटनाका सन्दर्भ र पीडितको अवस्था लगायतलाई आधार बनाएर थुनाको आदेश दिइएको उल्लेख छ।

सम्बन्धित समाचार

सबै