काठमाडौं । काठमाडौंको तीनकुनेमा दुई जनाको ज्यान जाने गरी भएको घटनाको निष्पक्ष छानबिन गर्न प्रमुख प्रतिपक्षी दलले गरेको माग गृहमन्त्री रमेश लेखकले अस्वीकार गरेका छन् ।
शुक्रबार प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री लेखकले तीनकुने घटनालाई ‘आपराधिक’ भन्दै छानबिन समिति आवश्यक नरहेको जिकिर गरे । उनले घटनामा संलग्न सबै पक्षको अनुसन्धान गरेर कारबाही गरिने बताए ।
गृहमन्त्री लेखकले चैत १५ गतेको घटना राजावादीले नै गराएको दावी गर्दै भने, “यो संविधान च्यात्ने र फाल्ने उद्देश्यले भएको आपराधिक कार्य हो । यसलाई कुनै राजनीतिक आन्दोलनको संज्ञा दिन मिल्दैन ।”
उनले संविधानका चार कुरामा जबरजस्ती परिवर्तन गर्न नपाइने भन्दै जनताको सार्वभौम सत्ता खोस्ने प्रयासलाई अस्वीकार्य बताए । “राजावादी आन्दोलन संविधानको जग हल्लाउने प्रयास हो,” उनले भने, “यो न्यायिक आयोग बनाउने खालको विषय होइन । अनुसन्धान स्वतन्त्र र निष्पक्ष रुपमा भइरहेको छ ।”
सरकारप्रति जनताको आक्रोश र असन्तुष्टि रहेको स्वीकार गर्दै लेखकले सुधारका प्रयास भइरहेको बताए । “कमजोरी छन् भने सच्यौंला, तर घर फोहोर भयो भनेर आगो लगाउने कि सफा गर्ने भन्ने छनोट संसद्ले नै गर्नुपर्छ,” उनले भने ।
प्रदर्शन स्थल छनोटबारे उनले दुबै पक्षले शान्तिपूर्ण प्रदर्शनको आश्वासन दिएको तर अशान्ति मच्चाइएको बताए । “अब यस्ता घटनाको पुनरावृत्ति हुन दिइने छैन,” उनले स्पष्ट पारे ।
गृह मन्त्रालयले घटनामा संलग्न प्रत्येक व्यक्तिको गतिविधि अध्ययन गरेर मात्र कानुनी प्रक्रिया अघि बढाइने बताएको छ । गृहमन्त्री लेखकले अनुसन्धानमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिएका छन् ।