पूर्वराजाको ‘सफ्ट कू’ योजनाको आरोप सांसद पन्तबाट

198 Shares

काठमाडौं । सत्तारुढ नेकपा एमालेका सांसद रघुजी पन्तले पूर्वराजा ज्ञानेन्द्र शाहले चैत १५ गते सत्ता कब्जाको योजना बनाएर ‘सफ्ट कू’ गर्न खोजेको आरोप लगाएका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद पन्तले पूर्वराजाले आफ्ना समर्थक र दुर्गा प्रसाईंलाई उक्साएर सिंहदरबार र नारायणहिटी दरबार कब्जा गर्ने योजना बनाएको दाबी गरे ।

उनले भने, “यो संविधानिक प्रक्रिया होइन, यो त ‘सफ्ट कू’ हो ।”
पन्तका अनुसार, राप्रपाबाट राजगद्दीमा फर्किने आश मरेपछि पूर्वराजाले सडकबाट विद्रोहको बाटो रोजेका हुन् ।

उनले सरकारलाई प्रश्न गरे – “गणतन्त्र भएको मुलुकमा ‘श्री ५ सरकार’ लेखेर विज्ञप्ति जारी भइरहँदा सरकार किन चुप छ ? पूर्वराजालाई किन नियन्त्रणमा लिइएको छैन ?”

पन्तले प्रसाईंको नेतृत्वमा भएको प्रदर्शनमा प्रहरीमाथि भएको आक्रमण, सुरक्षा निकायको उदासिनता, र पूर्वराजाको भूमिकाबारे छानबिन गर्न माग गरे । “दुर्गा प्रसाईंले हतियार ल्याएर आउनू भनेका थिए, त्यो कति गम्भीर हो भन्ने बुझ्नुपर्छ,” उनले जोड दिए ।

सांसद पन्तका अनुसार, पूर्वराजालाई चुनावबाट गद्दीमा फर्काउने सम्भावना राप्रपा नेतृत्वबाट टाढिँदै गएपछि उनले सत्ता कब्जाको वैकल्पिक बाटो रोजेका हुन् । “गड्याङगुडुङ गरेर भए पनि फर्किन्छु भन्ने सोचले यस्तो कदम चालिएको हो,” उनले भने ।

सम्बन्धित समाचार

सबै