बैंकक । प्रधानमन्त्री केपी शर्मा ओलीले बिम्स्टेक शिखर सम्मेलनका मुख्य विषयवस्तुहरू नेपालले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षासँग प्रतिध्वनित हुने बताएका छन्।
थाइल्याण्डको बैंककस्थित साङग्रिला होटलमा आयोजित बिम्स्टेक (बङ्गालको खाडीको प्रयास) शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले समृद्धि, लचिलोपन र खुलापनलाई सम्मेलनका आधार स्तम्भको रूपमा व्याख्या गरे। ती स्तम्भहरू दिगो विकास लक्ष्य (SDG) र नेपालको लक्ष्यसँग घनिष्ट सम्बन्ध राख्ने उनले बताए।
ओलीले बिम्स्टेकले क्षेत्रीय सहकार्यलाई पुनर्जीवित गर्न अवसर प्रदान गर्ने उल्लेख गर्दै सम्भावना र स्रोतको अधिकतम उपयोगका लागि एकीकृत प्रयासको आवश्यकता औंल्याए। उनले क्षेत्रीय आर्थिक असमानताको सन्दर्भमा विशेष आवश्यकता भएका राष्ट्रहरूलाई प्राथमिकतामा राखी सहयोग गर्न पनि जोड दिए।
जलवायु परिवर्तनको प्रभावबारे बोल्दै प्रधानमन्त्री ओलीले हिमालय क्षेत्र एसियाको पानी स्रोत भएको र यसले विश्वव्यापी तापक्रम घटाउन भूमिका खेलेको बताए। न्यून कार्बन उत्सर्जनका बाबजुद हिमाली क्षेत्रमा असमान असर परेकोप्रति चिन्ता व्यक्त गर्दै उनले यसको प्रभाव तराई र तटीय क्षेत्रमा पनि देखिएको बताए।
उनले नेपालले आगामी मे महिनामा ‘सगरमाथा संवाद’ को पहिलो संस्करण आयोजना गर्न लागेको जानकारी दिए, जसले पहाड–महासागर सम्बन्ध उजागर गर्नेछ।
बिम्स्टेक शिखर सम्मेलनमा ‘बिम्स्टेक म्यारिटाइम ट्रान्सपोर्ट कोअपरेसन’ मा हस्ताक्षर भएको छ। सम्मेलनमा थाइल्याण्ड, बङ्गलादेश, भुटान, भारत, म्यान्मार र श्रीलङ्काका प्रधानमन्त्री एवं प्रतिनिधिमण्डल प्रमुखहरूले सम्बोधन गरेका थिए।