
काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा एमाले पोलिटब्युरो सदस्य ज्वालाकुमारी साहले संविधानमार्फत महिला, दलित, जनजाति, मुस्लिम, अपाङ्गता भएका नागरिकलगायत उत्पीडित समुदायको अधिकार सुनिश्चित भएको बताएकी छन्। दुई वर्षदेखि संसदमा कानुन निर्माणमा सक्रिय रहँदै आएकी साहले निजामती, शिक्षा, प्रहरीलगायतका विधेयकहरू प्रक्रियामा रहेको जानकारी दिइन्।
साहका अनुसार संघीयता बलियो बनाउन सबै राजनीतिक दल एक ठाउँमा उभिनु आवश्यक छ। “संघीयतालाई सफल बनाउने हो भने कांग्रेस, एमाले, माओवादी केन्द्र, मधेसी दल सबै एक ठाउँमा उभिनुपर्छ,” उनले भनिन्।
संविधान महिला–मैत्री भएको उल्लेख गर्दै साहले संघीय संसदमा ३४ प्रतिशत, प्रदेशमा ३६.५ प्रतिशत र स्थानीय तहमा ४१.१ प्रतिशत महिला सहभागिता रहेको जनाइन्। महिला सशक्तिकरणका लागि सरकारले नीति, कार्यक्रम र बजेटमार्फत पहल गरिरहेको उनको भनाइ थियो।
उनले निर्वाचन प्रणाली महँगो भएकोले साधारण नागरिकका लागि निर्वाचनमा भाग लिन कठिन भएको उल्लेख गर्दै निर्वाचन प्रणालीमा सुधारको आवश्यकता औंल्याइन्। प्रदेशको संख्या र मन्त्रीहरूको संख्यामा कटौती गर्नसम्बन्धी छलफल भइरहेको पनि उनले जानकारी दिइन्।
सरकारले भ्रष्टाचारविरुद्ध कारबाही अगाडि बढाएको भन्दै उनले सुशासन कायम गर्न र जनतालाई सेवा दिन सरकार कटिबद्ध रहेको बताइन्। विपद्बाट प्रभावित परिवारलाई उद्धार, राहत र पुनःस्थापनामा सरकारले सक्रियता देखाएको उनले उल्लेख गरिन्। बाढीपहिरोमा मृत्यु भएका ३९१ जनाको परिवारलाई २ लाखका दरले राहत, दुई हजारभन्दा बढी परिवारलाई साढे ४ करोड राहत वितरण गरिएको जानकारी पनि दिइन्।
सांसद साहका अनुसार नेपालमा सम्भावना धेरै छन् र नकारात्मक सोच होइन, सकारात्मक सोचका साथ देश निर्माण गर्नुपर्छ। “नेपालमै रोजगारी छ, उत्पादन गर्न सकिन्छ,” भन्दै उनले देशभित्रै अवसरको खोजी गर्न सबैलाई आग्रह गरिन्।
विकासका काम तीव्र रूपमा अगाडि बढिरहेको उल्लेख गर्दै उनले गाउँगाउँमा सडक, बिजुली, स्वास्थ्यचौकी र इन्टरनेट पुगेको बताइन्।
सांसद ज्वालाकुमारी साहको परिचय
२०३८ सालमा जन्मिएकी साहले २०५४ सालदेखि भूमिगत जीवनबाट राजनीतिक यात्रा थालेकी हुन्। उनी नेकपा माओवादीबाट विद्यार्थी राजनीतिमा प्रवेश गरेकी थिइन्। भूमि सुधार, पर्यटन तथा कृषि राज्यमन्त्रीको जिम्मेवारी सम्हालेकी साह २०७७ मा एमालेमा प्रवेश गरेकी हुन्। हाल उनी एमालेको संगठन विभाग सदस्य हुन्। २०७४ मा प्रदेशसभा सदस्य र २०७९ मा प्रतिनिधिसभा सदस्यमा बारा ३ बाट निर्वाचित भएकी हुन्।