
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकारले निजी क्षेत्रलाई सहज हुने गरी कानुन निर्माण गरिरहेको बताएका छन् ।
तमोर इनर्जी प्रालिले ताप्लेजुङको तमोर नदीमा निर्माण गर्न लागेको २८५ मेगावाट क्षमताको जलविद्युत् केन्द्रमा प्रयोग गरिने टनेल बोरिङ मेसिनबारे चाइना रेल्वे इञ्जिनियरिङ कम्पनीसँग गरिएको हस्ताक्षर समारोहमा मन्त्री खड्काले यस्तो बताएका हुन् ।
उनले निजी क्षेत्रबाट बढी कर संकलन गर्दै मुलुक समृद्ध बनाउने लक्ष्यसहित सरकारले अध्यादेशमार्फत कानुनी व्यवस्था अगाडि बढाएको बताए । साथै, सन् २०३५ सम्म २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको जानकारी दिँदै त्यसका लागि नयाँ प्रविधिको प्रयोग महत्वपूर्ण हुने बताए ।
मन्त्री खड्काले जलविद्युत् आयोजनालाई धरौटी राखेर विपन्न वर्गका लागि दुईदेखि पाँच लाख रुपैयाँसम्मको सेयर व्यवस्था गर्न लागेको जानकारी दिँदै यसमा निजी क्षेत्रको संलग्नता आवश्यक रहेको बताए ।
नेकपा (एमाले) का सचिव योगेश भट्टराईले २०४६ सालपछि सरकारले लिएको नीति र निजी क्षेत्रको भूमिकाले ऊर्जा क्षेत्रमा तीव्र विकास भएको बताए । उनले तमोर आयोजना ताप्लेजुङ, कोशी प्रदेश र समग्र देशकै हितमा हुने धारणा राखे ।
तमोर इनर्जी प्रालिका अध्यक्ष पुष्पज्योति ढुङ्गानाले यो आयोजना लोडसेडिङ अन्त्यका लागि प्रभावकारी हुने विश्वास व्यक्त गरे । करीब ५१ अर्ब रुपैयाँ लगानीमा बन्न लागेको यो आयोजना चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ ।
चाइना रेल्वे इञ्जिनियरिङ कम्पनीका प्रतिनिधि लु सियारुङले सबैको सहकार्यमा आयोजना समयमै सम्पन्न गरिने प्रतिबद्धता जनाए । उनका अनुसार कम्पनीले हालसम्म एक सयभन्दा बढी जलविद्युत् आयोजना निर्माण गरिसकेको छ ।