ओलीको सम्बोधनपछि बिम्स्टेक सम्मेलनमा कार्यसूची पारित हुने

69 Shares

बैङ्कक । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिम्स्टेकको छैटौं शिखर सम्मेलनलाई सम्बोधन गर्ने भएका छन् । थाइल्याण्डको राजधानी बैङ्ककस्थित होटल साङ्ग्रिलामा जारी सम्मेलनमा उनीसहित सदस्य राष्ट्रका सरकार प्रमुखहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।

शिखर सम्मेलनको पहिलो कार्यसूचीमा ‘बिम्स्टेक म्यारिटाइम ट्रान्सपोर्ट कोअपरेसन’ मा हस्ताक्षर हुनेछ । कार्यक्रमको सुरुआतमा आयोजक मुलुक थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावातले स्वागत सम्बोधन गर्नेछन् । त्यसपछि बङ्गलादेश, भुटान, भारत, म्यान्मार, नेपाल र श्रीलङ्काका प्रतिनिधिमण्डल प्रमुखहरूले सम्बोधन गर्नेछन् । सम्बोधनपछि कार्यसूचीहरू पारित गरिनेछ भने अन्त्यमा आयोजक प्रधानमन्त्री शिनावातले पत्रकार सम्मेलन गर्ने छन् ।

सम्मेलनपश्चात स्थानीय समयअनुसार अपराह्न ४ बजे प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच दुईपक्षीय भेटवार्ता तय भएको छ ।

प्रधानमन्त्री ओली थाइल्याण्डको पहिलो औपचारिक भ्रमण पूरा गरी सम्मेलनमा सहभागी भएका हुन् । सम्मेलनपछि आज साँझ थाइल्याण्डस्थित नेपाली दूतावासद्वारा आयोजना गरिएको स्वागत समारोहमा पनि प्रधानमन्त्री ओली सहभागी हुने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा. युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल र परराष्ट्र सचिव अमृतबहादुर राईसहितको टोली सहभागी छ ।

सम्बन्धित समाचार

सबै