प्रधानमन्त्री ओलीद्वारा साझा प्रयासको आह्वान, एआइटी कोषमा सहयोग घोषणा

179 Shares

बैंकक । प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डको एसियन इस्टिच्युट अफ टेक्नोलोजी (एआइटी) मा आयोजित कार्यक्रममा सम्बोधन गर्दै मानव जातिको सुरक्षित र समृद्ध भविष्यका लागि साझा प्रयास आवश्यक रहेको बताएका छन्।

बिमस्टेक शिखर सम्मेलनमा भाग लिन थाइल्याण्ड पुगेका प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षाको व्याख्या गर्दै जलवायु परिवर्तनलगायतका वैश्विक मुद्दामा संयुक्त पहल गर्न आह्वान गरे। उनले मानवीय सुख, समृद्धि, सुरक्षा र आत्मसम्मानका लागि नेपाल सरकारले निरन्तर काम गरिरहेको उल्लेख गरे।

नेपाली विद्यार्थी तथा अध्यापकहरू सहभागि कार्यक्रममा प्रधानमन्त्री ओलीले आधुनिक कृषिको विकास र २१औं शताब्दीका जनशक्ति उत्पादनमा जोड दिँदै एआइटीका स्नातकहरूले नेपालको जलस्रोत तथा अन्य विकास क्षेत्रमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे। यसै क्रममा, उनले नेपालमा अनुसन्धान, अध्ययन र छात्रवृत्तिका लागि एआइटी कोषमा एक लाख अमेरिकी डलर सहयोग गर्ने घोषणा गरे।

थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर वलीका अनुसार नेपाल एआइटीमा सबैभन्दा धेरै विद्यार्थी पठाउने चौथो ठूलो देश हो। हाल १८१ नेपाली विद्यार्थी अध्ययनरत छन् भने हालसम्म १,७९५ नेपाली विद्यार्थीले अध्ययन पूरा गरिसकेका छन्। यस संस्थाको बोर्ड अफ ट्रस्टीमा तीन जना नेपाली सदस्य तथा सात जना नेपाली फ्याकल्टी सदस्य रहेका छन्।

प्रधानमन्त्री ओली, प्रथम महिला राधिका शाक्यसहितको टोलीलाई एआइटीका प्रेसिडेन्ट प्रा. पाइ ची लीले स्वागत गरे। ओली थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राको मैत्रीपूर्ण निमन्त्रणामा औपचारिक भ्रमणमा छन्।

उनले बिमस्टेक सम्मेलनका क्रममा सदस्य राष्ट्रका सरकार तथा राष्ट्रप्रमुखहरूसँग साइडलाइन भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। भ्रमण दलमा प्रथम महिला शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राईलगायत उच्च पदाधिकारी सहभागी छन्।

सम्बन्धित समाचार

सबै