बिम्स्टेकलाई सशक्त बनाउन क्षेत्रीय सहकार्य आवश्यक: परराष्ट्रमन्त्री राणा

170 Shares

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बिम्स्टेकलाई क्षेत्रीय एकता र सामूहिक सहकार्यको भावना अनुरूप अघि बढाउनुपर्ने धारणा व्यक्त गरेकी छन्।

बैङ्ककमा आयोजित छैटौं बिम्स्टेक समिटअन्तर्गत २०औं मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले बिम्स्टेक बङ्गालको खाडी क्षेत्रका नागरिकको साझा आकांक्षाको प्रतिनिधित्व गर्ने भएकाले यसको प्रभावकारिता बढाउनु आवश्यक रहेको बताइन्। बिम्स्टेकलाई दक्षिण एसिया र दक्षिणपूर्व एसियाली गतिशील क्षेत्रको प्रतिनिधि ‘इन्द्रेणी’को संज्ञा दिँदै उनले आर्थिक समृद्धिको सम्भावनालाई उजागर गर्नुपर्नेमा जोड दिइन्।

नेपालले संयुक्त राष्ट्रसंघको नेतृत्वमा शान्तिपूर्ण, समतामूलक र समावेशी क्षेत्रीयता तथा बहुपक्षीयतालाई महत्व दिँदै आएको उल्लेख गर्दै मन्त्री राणाले शान्ति, सुरक्षा र दिगो विकासलाई सुदृढ गर्न नेपाल विश्वव्यापी मञ्चहरूमा सक्रिय रहेको बताइन्।

बिम्स्टेकको बडापत्र, सिद्धान्त र उद्देश्यप्रति नेपाल प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले जलवायु परिवर्तन, प्राकृतिक प्रकोप, वातावरणीय विनाश र प्रदूषणको असर बङ्गालको खाडी क्षेत्रमा गम्भीर बनेको भन्दै पूर्वाधार निर्माण, पूर्व चेतावनी प्रणाली तथा वातावरण संरक्षणमा समुदायको संलग्नता बढाउनु आवश्यक भएको बताइन्।

भारतको पहलमा बिम्स्टेक विपद् व्यवस्थापन केन्द्र स्थापना गर्ने प्रस्तावको स्वागत गर्दै मन्त्री राणाले यस केन्द्रले ‘एआई’ प्रविधिको प्रयोगमार्फत विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरिन्।

बिम्स्टेकलाई बलियो साझेदारी मञ्चका रूपमा सशक्त क्षेत्रीय संगठनमा रूपान्तरण गर्न उनले ‘बिम्स्टेक फ्री ट्रेड एरिया’ को सञ्चालन, ‘इपिजी रिपोर्ट’ को कार्यान्वयन, ‘ट्रान्सपोर्ट कनेक्टिभिटी मास्टर प्लान’ लागू गर्ने तथा क्षेत्रीय केन्द्रहरूको पूर्ण परिचालन आवश्यक रहेको बताइन्।

मन्त्री राणाले शिक्षा, स्वास्थ्य, जलवायु परिवर्तन, महिला सशक्तिकरण, गरिबी निवारण तथा पर्यटन प्रवर्द्धनमा सदस्य राष्ट्रहरूबीच सहकार्य हुनुपर्ने उल्लेख गरिन्। उनले खासगरी मातृ-शिशु स्वास्थ्य, मानसिक स्वास्थ्य तथा नसर्ने रोगहरूको नियन्त्रणमा विशेष ध्यान दिनुपर्ने सुझाव दिइन्।

बैठकमा बिम्स्टेक सदस्य राष्ट्रका विदेशमन्त्रीहरूको सहभागिता रहेको थियो।

सम्बन्धित समाचार

सबै