प्रमुख प्रशासकीय अधिकृत गुरागाई कार्यालय छिरे, मेयर साहले कार्यकक्षमा तालाबन्दी

177 Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाई तीन महिना १४ दिनपछि आज कार्यालय प्रवेश गरेका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक महिनाअघि गुरागाईलाई महानगरपालिकामा हाजिर गराउने वातावरण बनाउन पत्र पठाएको थियो।

आज कार्यालय पुग्दा उपप्रमुख सुनिता डंगोल, अधिकांश कार्यपालिका सदस्य, वडाध्यक्षहरू तथा कर्मचारी गुरागाईसँगै थिए। मेयर बालेन साहले नगर प्रहरी परिचालन गरी अवरोध गर्न खोजे पनि गुरागाई त्यसलाई पार गर्दै कार्यालय छिरे।

तर, कार्यालय प्रवेश गरेपछि मेयर साहले कार्यकक्षमा तालाबन्दी गराएका कारण गुरागाई कार्यकक्षमा छिर्न सकेनन्। यसपछि उपप्रमुख डंगोलसहित वडाध्यक्षहरू बोर्ड बैठक हलमा अनौपचारिक छलफलमा बसे। बैठकमा डंगोलले मेयर साहको चर्को आलोचना गर्दै प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गर्न दिनुपर्ने बताइन्।

डंगोलले कानुनी रूपमा दोषी प्रमाणित नभइसकेका व्यक्तिलाई अवरोध गर्नु अन्यायपूर्ण भएको उल्लेख गर्दै महानगरका कर्मचारी तथा सेवाग्राहीहरू समस्यामा परेको बताइन्। प्रमुख प्रशासकीय अधिकृत नहुँदा तीन महिनादेखि कर्मचारीको तलबभत्ता रोकिएको र महानगरका सेवा प्रभावित भएको भन्दै उनले समाधानको माग गरिन्।

महानगरका प्रवक्ता नविन मानन्धरसहित वडाध्यक्षहरूले पनि मेयर साहको निर्णयको आलोचना गरे। नगर प्रहरी प्रमुख राजु पाण्डेले तालाबन्दीबारे सोध्दा उनले मेयरको मौखिक आदेशअनुसार भएको बताएका थिए। प्रमुख प्रशासकीय अधिकृत गुरागाईलाई कार्यालय प्रवेशमा रोक लगाइरहँदा महानगरमा प्रशासनिक गतिरोध उत्पन्न भएको छ।

सम्बन्धित समाचार

सबै