
काठमाडौं । रेडक्रसको अन्तर्राष्ट्रिय संस्था आइएफआरसीले नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सुदर्शनप्रसाद नेपालसहित पाँच जनालाई निलम्बन गरेको छ। अध्यक्ष नेपाल र उपाध्यक्ष विशाल भण्डारीलाई पत्र पठाएर निलम्बनको जानकारी गराइएको हो।
निलम्बनमा पर्नेहरूमा अध्यक्ष नेपालसहित विनोद कुमार बस्नेत, मनोज कुमार थापा, भुपतिलाल श्रेष्ठ, र नारायण तिमिल्सिना छन्। उनीहरूलाई संस्थाको आधारभूत मान्यताविपरीत कार्य गरेको, सामान्य सिद्धान्त नअपनाएको, प्रशासनिक अराजकता निम्त्याएको, र राजनीतिक आडमा आर्थिक लाभ लिएको आरोप लगाइएको छ।
आइएफआरसीका अनुसार कारबाहीमा परेका तीन जना नेपाली कांग्रेसका, एक जना नेकपा माओवादी केन्द्रका, र एक जना नेकपा एसका हुन्। कांग्रेसका तर्फबाट कारबाहीमा पर्नेहरूमा प्राध्यापक सुदर्शनप्रसाद नेपाल, विनोद कुमार बस्नेत, र मनोज कुमार थापा छन्। उनीहरूलाई तीन विभिन्न कसुरमा कारबाही गरिएको छ।