राजसंस्था फर्काउने कल्पना असम्भव : सांसद घर्ती

78 Shares

काठमाडौं । प्रतिनिधि सभा सदस्य तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य पूर्णबहादुर घर्तीले समाप्त भइसकेको राजसंस्था पुनःस्थापना गर्ने कुरा असम्भव भएको बताएका छन्।

उनले इतिहास कहिल्यै पछाडि नफर्किने दाबी गर्दै राजसंस्थाको पुनःस्थापनाको कुनै सम्भावना नरहेको स्पष्ट पारे। ‘राजसंस्था आर्यघाट पुगिसकेको छ, यद्यपि त्यसका मलामीहरू बाँकी छन्। तर इतिहास कहिल्यै पछाडि फर्किएको छैन,’ सांसद घर्तीले भने, ‘मेरो बितिसकेको हजुरबुबालाई फर्काउँछु भन्नु र गइसकेको राजसंस्था फर्काउँछु भन्नु एउटै कुरा हो।’

उनका अनुसार राजसंस्थाप्रति आस्था राख्न पाइन्छ, तर अहिले राजतन्त्र फर्कने अवस्था छैन। गणतन्त्रको विकल्प सुदृढ गणतन्त्र भएको उल्लेख गर्दै उनले प्रणालीमा देखिएका कमजोरी सुधार्न आवश्यक रहेको बताए।

‘संघीयता कार्यान्वयन गर्न केही अपुग भएको छ। संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयन गर्ने सवालमा दलहरूले कमजोरी गरेका छन्, तर यसको अर्थ राजसंस्था फर्किनुपर्छ भन्ने होइन,’ उनले भने, ‘अब यही प्रणालीलाई सुधार्नुको विकल्प छैन।’

सरकारप्रति जनताको असन्तुष्टि रहे पनि गणतन्त्रको विकल्पका रूपमा राजसंस्था खोजिएको छैन भन्ने उनको भनाइ छ। ‘सरकारका प्रवृत्तिका कारण जनतामा असन्तोष बढेको हो, यसको गम्भीर समीक्षा हुनुपर्छ,’ उनले थपे।

सम्बन्धित समाचार

सबै