बैंकक । प्रधानमन्त्री केपी शर्मा ओली बिमस्टेकको छैटौं शिखर सम्मेलनमा भाग लिन तथा औपचारिक भ्रमणका लागि आज थाइल्याण्डको बैंकक आइपुगेका छन्।
प्रधानमन्त्री ओली मंगलबार साँझ स्थानीय समयअनुसार ६:१५ बजे सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। उनलाई थाइल्याण्डका उपप्रधानमन्त्री एवं यातायातमन्त्री सुरिया जङ्ग्राउनग्रेङकिट, संस्कृति तथा खेलकुदमन्त्री सोरावोङ थेनबोङ, थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर वली, नेपालका लागि थाइल्याण्डका राजदूत सावापोङ सिरिसोर्नसहितले स्वागत गरेका थिए।
थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान शिनावातको निमन्त्रणामा नेपालका प्रधानमन्त्रीको यो पहिलो औपचारिक भ्रमण हो। भ्रमण टोलीमा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक–विकास सल्लाहकार डा. युवराज खतिवडा, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सहभागी छन्।