काठमाडौं । प्रतिनिधिसभाको चालु पाँचौँ अधिवेशनबाट पाँच विधेयक पारित भएका छन् । माघ १८ गतेदेखि सुरु भएको अधिवेशनमा १२ वटा सरकारी र एउटा गैरसरकारी विधेयक दर्ता भएका थिए ।
पारित हुने विधेयकहरूमा ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’, ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’, ‘निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ र ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ छन् ।
चार विधेयक समितिमा विचाराधीन छन् भने तीनवटा विधेयक सदनमा प्रस्तुत मात्र भएका छन् । गैरसरकारी विधेयकअन्तर्गत ‘जाति, रङ्ग, क्षेत्र, वेशभूषा, राष्ट्रियता वा उत्पत्तिमा आधारित भेदभाव (कसुर र सजाय)’ सम्बन्धी विधेयक दर्ता भएको छ ।
अघिल्ला अधिवेशनमा पेश भएका विधेयकमध्ये ‘संवैधानिक परिषद् (काम, कर्तव्य र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक’ प्रतिनिधिसभाबाट पारित भएको छ भने ‘जलस्रोत विधेयक’ समितिको प्रतिवेदन सदनमा प्रस्तुत भएको छ । ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक’ राष्ट्रियसभाबाट फिर्ता भई प्रतिनिधिसभामा टेबुल भएको छ ।
राष्ट्रियसभाबाट उत्पत्ति भएका चार विधेयकमध्ये दुई विधेयक समितिमा पठाइएका छन् । ‘नेपाल कानून व्यवसायी परिषद् (पहिलो संशोधन) विधेयक’ माथि सैद्धान्तिक छलफल सकिएको छ भने ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक’ सदनमा प्रस्तुत भएको छ ।
अघिल्ला अधिवेशनमा राष्ट्रियसभाबाट प्राप्त सात विधेयकमध्ये चार विधेयक पारित भइसकेका छन् । ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक’ समितिको प्रतिवेदन सदनमा पेश भएको छ भने ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक’ समितिमा विचाराधीन छ । ‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक’ प्रस्तुत मात्र भएको छ ।