
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेकी छन्।
मंगलबार संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले चैत १५ गतेको प्रदर्शनका क्रममा गृहमन्त्रीले सुरक्षा संयन्त्रको जिम्मेवारी प्रभावकारी रूपमा सम्हाल्न नसकेको आरोप लगाइन्।
उनले प्रदर्शनका क्रममा कीर्तिपुरका सविन महर्जनको मृत्यु सरकारको लापरबाहीका कारण भएको बताउँदै गृहमन्त्रीलाई पदबाट हट्न आग्रह गरिन्। ‘उहाँले सुरक्षा संयन्त्रको जिम्मा लिन सकेनन्, त्यसैले राजीनामा दिनुपर्छ। अरू सक्षम व्यक्तिलाई जिम्मेवारी दिनुपर्छ,’ उनले भनिन्।
गौतमले सविन महर्जनको मृत्युबारे सरकारले दिएको विवरण र सार्वजनिक भएको भिडियो सामग्रीबीच अन्तर रहेको दाबी गरिन्। ‘सरकारले दुईतर्फी झडपमा गोली लागेको भन्यो, तर भिडियो फुटेजमा वास्तविकता अर्कै देखिन्छ,’ उनले भनिन्।
सांसद गौतमले संसदको हिउँदे अधिवेशनलाई नियन्त्रणमुखी भन्दै आलोचना गरिन्। उनले कानून निर्माणका केही प्रक्रियाहरू स्वाभाविक रूपमा अघि बढे पनि, धेरै विषयहरू नियन्त्रित रूपमा प्रस्तुत भएको बताइन्।
उनले रास्वपा सभापति रवि लामिछानेमाथिको निलम्बन प्रक्रियालाई समेत नियन्त्रणमुखी रहेको उल्लेख गर्दै संसदमा राजनीतिक हस्तक्षेपको प्रवृत्तिप्रति आपत्ति जनाइन्।