प्रतिनिधिसभा बैठक आज बस्दै, हिउँदे अधिवेशन अन्त्य हुने

215 Shares

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (मंगलबार) बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्दैछ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय समावेशी आयोग र मुस्लिम आयोगको छैटौँ वार्षिक प्रतिवेदन, २०८०–८१ पेश गर्ने कार्यसूची छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रिप्रसाद पाण्डेले ‘नेपाल हवाइ सेवा प्राधिकरण विधेयक, २०८१’ र ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

त्यसैगरी, उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘बैङ्किङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ माथि राष्ट्रियसभाबाट भएको संशोधनबारे विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले ‘शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहित दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, २०८०’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र सो विधेयक पारित गराउने प्रस्ताव राख्ने छन्।

यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले ‘पूर्वाधार विकास समितिको प्रतिवेदनसहितको जलस्रोत विधेयक, २०८१’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र विधेयक पारित गराउने कार्यसूची पनि बैठकमा समावेश छ।

आजको बैठकसँगै संघीय संसदको चालु हिउँदे अधिवेशन अन्त्य हुनेछ। सरकारले आज राति १२ बजेबाट अधिवेशन अन्त्यका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरिसकेको छ।

सम्बन्धित समाचार

सबै