काठमाडौं । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले राजसंस्था, राजनीतिक दलहरू र जनतालाई समेट्ने मिलन बिन्दु पहिल्याउन आग्रह गरेका छन्। एक प्रेस वक्तव्य जारी गर्दै उनले राज्यका संरचनाप्रति जनतामा निराशा र आक्रोश बढ्दै गएको दाबी गरेका छन्।
‘सरकार, संसद, न्यायपालिका तथा राज्यका अन्य अंगहरूमा जनविश्वास गुम्दै गएकाले आम जनतामा निराशा र आक्रोश पैदा भएको छ,’ उनले भने, ‘अब कुनै ढिलाइ नगरी सबै पक्षले आफ्ना आग्रह, पूर्वाग्रह र अहम त्यागेर मिलन बिन्दु खोज्नुपर्छ।’
उनले मुलुक निषेधको राजनीतिबाट अगाडि बढ्न नसक्ने भन्दै राष्ट्रिय सहमति, सहकार्य र एकता नै अबको निकासको अपरिहार्य मार्ग रहेको बताए। ‘१० वर्षको माओवादी द्वन्द्व र ०६२/०६३ को आन्दोलनपछि मुलुक राजनीतिक अस्थिरता, भ्रष्टाचार, कानूनविहिनता र उत्तरदायित्वविहिनताको भूमरीमा फसेको छ,’ उनले उल्लेख गरे।
चैत १५ मा संयुक्त जनआन्दोलन समन्वय समितिको आह्वानमा काठमाडौंमा भएको शान्तिपूर्ण विरोधसभामा भएको घटनाबाट आफू मर्माहित भएको उनले बताए। घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गर्न उनले माग गरेका छन्।
‘शान्तिपूर्ण विरोधसभाका क्रममा नियोजित रूपमा हत्या, हिंसा, आगजनी तथा लुटपाटका घटनाहरू घटाइएको सुन्नमा आएको छ। यदि त्यो सत्य हो भने यो दुर्भाग्यपूर्ण र निन्दनीय छ,’ उनले भने। आन्दोलनका क्रममा सहादत प्राप्त गर्नेप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले परिवारजनप्रति समवेदना प्रकट गरेका छन्।
उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उचित क्षतिपूर्ति सहित उपचारको व्यवस्था गर्न आग्रह गरेका छन्। साथै, राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समन्वय समितिका संयोजक नवराज सुवेदी, राप्रपा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा लगायत सबै बन्दीहरूको विना शर्त रिहाइको माग गरेका छन्।







