प्रचण्डको दाबी: समाजवादी मोर्चाले राजावादीहरूको षड्यन्त्र असफल बनायो

172 Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी मोर्चाले राजावादीहरूको षड्यन्त्र असफल बनाएको दाबी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यदि समाजवादी मोर्चाले ठूलो जनसमुदायबीच विरोध सभा नगरेको भए, गम्भीर आपराधिक घटना निम्त्याउने योजना रहेको सूचना आफूले प्राप्त गरेको बताए ।

राजावादीहरूलाई उनले आततायी र विवेकशून्य तत्वको संज्ञा दिँदै, विगतमा निरंकुश राजतन्त्रले प्रेसमाथि अंकुश लगाएको र अहिले पनि प्रेस नै उनीहरूको निशाना बनेको बताए । उनले सत्य सूचना प्रवाह गरी अग्रगमन र स्थिरताको चेतना फैलाउने प्रेस जगत प्रतिगामी शक्तिबाट सतर्क रहनुपर्ने धारणा राखे ।

प्रचण्डले भने, “निरंकुश राजावादी तत्वहरूले तीनकुनेमा आपराधिक गतिविधि घटाउने तयारी गरेका थिए। लोकतन्त्र र गणतन्त्रप्रतिको प्रतिबद्धता देखाउन तीनकुनेका जनताले हजारौंको संख्यामा सहभागिता जनाएका थिए, जसले ठूला घटनाहरू हुनबाट रोक्यो। तर, दुई जनाको ज्यान गयो, थुप्रै गाडी तथा घरहरू जलाइए, संघसंस्था र पार्टी कार्यालयहरूमा आगजनी भयो।”

उनले गणतन्त्रवादी दलहरूले लोकतन्त्रप्रतिको प्रतिबद्धता देखाउँदै ठूलो संख्यामा विरोध सभा गरेर उदाहरण प्रस्तुत गरेको बताए । गणतन्त्रलाई बलियो बनाउन सरकारमा रहेका दलहरूले आफ्ना क्रियाकलाप सुधार गर्नुपर्ने उनले जोड दिए ।

सम्बन्धित समाचार

सबै