राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक जारी, मिश्र र राणाको गिरफ्तारीबारे छलफल

106 Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठक शनिबार अपराह्न धुम्बाराहीमा बसेको छ । प्रवक्ता मोहन श्रेष्ठका अनुसार बैठकमा वर्तमान परिस्थितिको समीक्षा गर्दै पार्टीको धारणा तय गर्ने विषयमा छलफल केन्द्रित छ ।

बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनसहित केन्द्रीय कार्यसम्पादन समिति सदस्यहरू सहभागी छन् । बैठकअघि लिङ्देन, पशुपति शम्शेर जबरा र प्रकाशचन्द्र लोहनी लगायतका नेताहरूले भद्रकाली पुगेर वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्शेर राणासँग भेट गरेका थिए ।

मिश्र र राणालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको थियो । दुर्गा प्रसाईंको आह्वानमा राजसंस्था पुनस्र्थापनाका लागि भएको प्रदर्शनपछि तीनकुने–कोटेश्वर–जडिबुटी क्षेत्रमा तोडफोड र आगजनी भएको थियो । नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनस्र्थापना समितिले उक्त प्रदर्शनलाई समर्थन गरेको थियो, जसमा मिश्र र राणा पनि संलग्न थिए ।

राप्रपा नेताहरूले संवैधानिक राजसंस्था पुनस्र्थापनाका लागि आन्दोलनको समर्थन गरे पनि हिंसात्मक गतिविधि अस्वीकार्य रहेको बताएका छन् । तर, भिडलाई उक्साउने किसिमका अभिव्यक्ति दिएको भन्दै वरिष्ठ उपाध्यक्ष मिश्रको भूमिका विवादित बनेको छ । उनले कुनै पनि आन्दोलन नेतृत्वमा नहुने भन्दै जनतालाई स्वतःस्फूर्त विद्रोहमा आउन आह्वान गरेका थिए ।

राप्रपा बैठकले यस विषयमा के निर्णय लिन्छ भन्ने चासो बढेको छ ।

सम्बन्धित समाचार

सबै