काठमाडौं – प्रतिनिधिसभाको बैठक आज (शुक्रबार) बिहान ११ बजे बस्दैछ। बैठक संघीय संसद भवन, नयाँ बानेश्वरमा हुनेछ। संसद सचिवालयका अनुसार बैठकमा अर्थ, गृह, भौतिक पूर्वाधार तथा यातायात, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सम्बन्धमा मौखिक प्रश्नोत्तर हुनेछ।
साथै, ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ माथि राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिनेछ। पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले जलस्रोत विधेयकसम्बन्धी प्रतिवेदन पेस गर्ने छन् भने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खडकाले ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक, २०८१’ लाई समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नेछन्।
यसअघि बुधबार बस्ने तय गरिएको बैठक अवरोध भएपछि बिहीबार पनि सञ्चालन हुन सकेन। सरकारको निर्णयमा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने विषयलाई लिएर प्रतिपक्षले अवरोध गर्दै आएको छ। विपक्षी दलले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा आएर स्पष्टीकरण दिनुपर्ने माग राख्दै बैठक स्थगित गराएका छन्।
तर, प्रधानमन्त्री ओलीले भने सरकारको निर्णयमा संसदमा जवाफ दिनुपर्ने औचित्य नरहेको बताएका छन्। उनले संसदमा घिसिङ हटाउने विषयमा जवाफ नदिने स्पष्ट पारेपछि सत्ता पक्ष र प्रतिपक्षबीच टकराव कायमै छ।