
काठमाडौं – हास्यव्यंग्यको परिचय बनाएका अभिनेता हरिवंश आचार्यले पछिल्लो समय गम्भीर भूमिकामा पनि आफूलाई स्थापित गरिरहेका छन्। २०७९ मा प्रदर्शन भएको चलचित्र ‘महापुरुष’ मा उत्कृष्ट अभिनय प्रस्तुत गरेपछि उनी राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट अभिनेता घोषित भए।
६७ वर्षको उमेरमा पनि आचार्य अभिनयलाई अत्यन्त गम्भीरतापूर्वक लिन्छन्। हालै आयोजित एक अन्तरक्रियामा उनले अनुशासनले सफलता दिगो बनाउने बताएका छन्। ‘चलचित्र वा प्रहसनमा अभिनय गर्दा अहिले पनि मुटु ढुकढुक गर्छ, डर लाग्छ। त्यो डर अनुशासनकै रूपमा काम गर्छ, जसले मलाई मेहनत गर्न प्रेरित गर्छ,’ उनले भने।
स्वस्थ शरीर, सकारात्मक सोच र अनुशासनका कारण उनी अहिले पनि ऊर्जावान छन्। उनका सहकर्मी मदनकृष्ण श्रेष्ठ पनि कलाकारितासँगै सामाजिक रूपले उच्च स्थानमा छन्।
रङ्गमञ्चबाट कलाकारिता सुरू गरेका आचार्यले लामो समयदेखि नाटकमा अभिनय गरेका छैनन्, तर मञ्चमा गरिने प्रहसनलाई नाटककै स्वरूप ठान्छन्। ‘नाटक र प्रहसन उस्तै हो। दुवैमा कलाकारले मञ्चमै आफूलाई प्रस्तुत गर्छन्। यस वर्ष पनि मैले केही प्रहसन गरेँ, त्यसैले म नाटकबाट टाढा छु जस्तो लाग्दैन,’ उनले भने।
रङ्गमञ्चलाई आमाको काखझैँ मानेका आचार्यले यहाँ सिकिएको कलाकारिता दिगो हुने बताए। उनले राष्ट्रिय नाचघरमा गुरु हरिप्रसाद रिमालसँग अभिनय सिकेको सम्झिँदै आँखाले अभिनय गर्ने कला त्यहीँबाट सिकेको उल्लेख गरे। मदनकृष्णसँग ‘विज्ञापन’ नाटक नेपाल र विदेशमा करिब ४०० पटक मञ्चन गरेको अनुभव सुनाए।
उनले अभिनय गरेको पहिलो चलचित्र ‘कुमारी’ हो। गोरखापत्र दैनिकमा कलाकार खोजिएको सूचना देखेपछि आवेदन दिएका थिए, तर छनोट भएनन्। ‘जीवनरेखा’ र ‘बासुदेव’ पछि भने उनले मुख्य भूमिकामा काम गर्न थाले।
अहिले पनि निरन्तर अभिनयमा सक्रिय आचार्यले अरूको लेखन तथा निर्देशनमा अभिनय गर्न रुचाउँछन्। ‘अरूले सिर्जना गरेको पात्र निर्वाह गर्दा सहज लाग्छ, तर आफूले लेखे वा निर्देशन गरेको पात्र निर्वाह गर्दा बढी मेहनत गर्नुपर्छ,’ उनले भने।
उनले अभिनय गरेका आगामी चलचित्र ‘भूठान’ र ‘हरिबहादुरको जुत्ता’ २०८२ सालमा प्रदर्शन हुने छन्।